नागरिक बहुउद्देश्यीय सहकारी संस्था लि.कोे एघारौंं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर, १६ माघ । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यविनायककोे एघारौंं वार्षिक साधारणसभा आज सांसद रामेश्वरप्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा सभासद् ढुंगेलले अर्थतन्त्रको तीन खम्बामध्ये एक रहेको सहकारी खम्बालाई दिगो र मजवुद बनाई राख्न जरुरी रहेको बताउँदै बैंक तथा वित्तिय संस्थाहरु समेत पुग्न नसकेको गाउँ तथा वडाहरुमा सहकारीको पहुँच पुगेको बताए । सांसद ढुंगेलले सहकारीको सिद्धान्त, मूल्य मान्यतालाई ध्यान दिएर सहकारी संस्थाले रोजगारीमूलक, उत्पादनमूलक, आयमूलक र व्यवसायमूलक क्षेत्रमा लगानी गरि युवा शक्तिलाई विभिन्न अवसरहरु दिई श्रम, सिप र दक्षता स्वदेशमा नै उपयोग गरी युवा शक्ति विदेशीने क्रमलाई केही हदसम्म रोक्न महत्वपूर्ण भुमिका खेलेको बताए । उनले सहकारीको माध्यमबाट जनताको आयस्तर उकास्न नागरिक सहकारी सफल हुँदै गएकोमा धन्यवाद दिए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष के.पी.अवालले नेपालीको आर्थिक पाटोलाई सबल पार्न र बचत गर्न समेत सहकारीले ठूलो योगदान दिएको बताए । उनले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिदै धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफसी सचेत हुनुपर्ने बताए ।
संस्थाका अध्यक्ष देवलाल किसीले सबैको सहयोगले संस्था अहिलेसम्म नाफामा सञ्चालन भइरहेको बताए । उनले सहकारीको विकासक्रमलाई केही सहकारी संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको बताए ।