केदारनाथको शिर डोलेश्वर समितिको आठौ वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर, १६ माघ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको हिजो मन्दिर परिसरमा भएको साधारणसभाको उद्घाटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले गर्नुभएको थियो ।
साधारणसभाको उद्घाटन गर्दै प्रजिअ पोखरेलले डोलेश्वरले पूर्वाधार विकासलगायत भक्तजनको सेवामा विशष ध्यान दिदै आएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरको विकासमा टेवा पुग्नु भएको बताउँदै यसलाई अझ प्रचार प्रसार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मन्दिरको गुरुयोजनालाई अगाडि बढाउन आग्रह गर्दै मन्दिरको लागि पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा मन्दिरका संरक्षक भरत जंगमले मन्दिरलाई यो अवस्थासम्म ल्याइपु¥याउन आफूले कानुनी लडाई धेरै लगेर सघर्ष गरेको स्मरण गर्दै स्थानीयबासीको सहयोगमा आज केदारनाथको शिर डोलेश्वरमा हुनु भक्तपुरमात्र नभई नेपालीकै लागि गर्वको विषय भएको बताउनुभयो ।
कार्यक्रममा आठौ साधारणसभाको तर्फबाट संस्थाका अध्यक्ष विदुरमान बस्नेत, महासचिव मोहन गिरी,कोषाध्यक्ष विश्वराम थापाले आ–आफनो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष किरण थापा, उपाध्यक्ष सुर्यबहादुर खाइतु, त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्रका अध्यक्ष केशव आचार्य लगायतले बोल्नुभएको थियो । सो अवसरमा संस्थालाई आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।