ट्रम्पले महिलाको उपस्थिती बिना गर्भपतन सम्बन्धी कानुनमा हस्ताक्षर गरे
एजेन्सी, १२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतन सम्बन्धी एक विशेष कानुन फेरि लागु गर्ने सम्बन्धी निर्देशनमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति ट्रम्पले गर्भपतन सम्बन्धी कानुनमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले कानुनमा हस्ताक्षर गरेपछि अमेरिकामा गर्भपतनमाथि प्रतिबन्ध लगाउन खोजिएको भन्दै विवाद सुरु भएको छ । नयाँ कानुन अनुसार गर्भपतन गराउन सहयोग गर्ने तथा यसबारे जानकारी दिने अन्तर्राष्ट्रिय संगठनलाई अमेरिकाको तर्फबाट अनुदान दिइने छैन । यो कानुनले अमेरिकामा गर्भपतनमा भने प्रतिबन्ध लगाउने होइन ।
यसले गर्भपतन गराउन सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्थालाई अमेरिकाको तर्फबाट सरकारी सहयोग दिन रोक लगाउने छ । केहीले यसलाई गर्भपतनमाथि प्रतिबन्ध लगाउने अभियानको सुरुवात रहेको भन्दै विरोध गरेका छन् । केहीले भने यसको स्वागत गरेका छन् ।
यसैबिच सामाजिक सञ्जालमा यसको निकै विरोध भएको छ । महिलासँग सम्बन्धित कानुनको हस्ताक्षर समारोहमा एक जना पनि महिला नभएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । कानुन हस्ताक्षर समारोहको तस्बिरमा एक महिला पनि छैनन् । यो कानुन सबै भन्दा पहिले सन् १९८४ मा तत्कालिन रिपब्लिक राष्ट्रपति रोनाल्ड रेगनले ल्याएका थिए । सन् २००१ मा बिल क्लिन्टन र २००९ मा बाराक ओबामाले यो कानुन स्थगित गरेका थिए । तर अहिले ट्रम्पले फेरि यो कानुलाई सक्रिय बनाउनुभएको हो । विश्वभरका संघसंस्थाले महिलालाई परिवार नियोजन सम्बन्धी जानकारी दिन समस्या आउने भन्दै यसको विरोध गरेका छन् ।