पशुपतिशम्शेरको पालो सकियो, राप्रपा राष्ट्रिय अध्यक्षमा लोहनी
काठमाडौं, ११ माघ । देशको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि आज देखि सकिएको छ । तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणाली अनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ –छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाको पनि छ महिनाको अवधि पूरा भएको छ । सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद आजदेखि लागू हुने गरी सकिएको हो ।
तत्कालीन राप्रपामा राणापछिको नेतृत्व वरिष्ठ नेता डा. लोहनीले गर्ने सहमति भएको लोहनीका प्रेस सहयोगी जनक पाठकले जानकारी दिए । दुवै पार्टी एकीकरण हुँदा पनि सो विषयलाई प्राथमिकतामा राखिएको थियो ।
नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा लोहनीले राष्ट्रिय पदको जिम्मेवारी आजदेखि लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौँ बाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज नबस्ने भएको छ । गत मङ्सिर ६ गते दुवै पार्टी एकीकरण भएर बनेको राप्रपाको बुधबार बस्ने बैठकले डा लोहनीलाई अध्यक्षका रुपमा अनुमोदन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टी महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने भएको छ । सोका लागि आवश्यक तयारीका कार्य जारी छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले नयाँ अध्यक्ष डा लोहनीले करिब एक महिना मात्र पार्टीलाई नेतृत्व दिनेछन् ।