अमेरिका टीपीपी सदस्य राष्ट्रबाट बाहिरियो
एजेन्सी, ११ माघ । ११ माघ । अमेरिका पूर्व राष्ट्रपति बाराक ओबामाको पहलमा भएको १२ मुलुक सम्मिलित ब्यापार सम्झौता ट्रान्स प्यासिफिक पार्टनरशीप टीपीपीको सदस्य राष्ट्रबाट अमेरिका बाहिरिएको छ । नव राष्ट्रपति डोनल्ड ट्रम्पले टीपीपीबाट बाहिरिने पत्रमा हस्ताक्षर गरेका सँगै अमेरिमा बाहिरिएको हो । चुनावी अभियानका क्रममा नै ट्रम्पले टिपिपीलाई निस्क्रिय पार्ने प्रतिबद्धता जनाएका थिए ।
टीपीपी सम्झौताले अमेरिकी उत्पादन क्षेत्रमा ह्रास आएको जिकीर गर्दै ट्रम्पले ओबामा प्रशासनको उक्त निर्णय उल्ट्याएका अधिकारीहरुले बताएका छन् । पूर्व राष्ट्रपति ओबामाको पहलमा जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा तथा मेक्सिकोसहित १२ देशकाबीच आर्थिक सहकार्य बढाउने उद्देश्यले टीपीपी सम्झौता भएको थियो । टिपिपी व्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बाराक ओबामाको एसिया सम्बन्धको प्रमुख आधार रुपमा लिइएको थियो । तर ट्रम्पले कार्यभार सम्हाले लगतै टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी निर्देशन पत्रमा हस्ताक्षर गरेका छन् ।
टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेसँगै राष्ट्रपति ट्रम्पले अमेरिकी कामदारका लागि महतवपूर्ण उपलब्धि भएको बताए । ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कर्पोरेट ट्याक्सलाई ३५ प्रतिशतबाट घटाइ १५ वा २० प्रतिशतमा झार्ने योजना सुनाउँदै विनिमय दर ७५ प्रतिशतसम्म कटौति गर्न सकिने जानकारी दिए ।