काउसो छर्केर बैंकबाटै लुटियो रकम
बाँके, १० माघ । नेपालगञ्जको धम्बोझीमा रहेको सिद्वार्थ बैङ्कबाट बागेश्वरी ह्यूमपाइप उद्योगमा कार्यरत दिनेश कँडेलको ३ लाख ६५ हजार रुपैयाँ लुटिएको छ ।
उनले पैसा झिकेर कालो झोलामा राखेर बाहिरिने क्रममा कसैले काउसो जस्तो चिलाउने वस्तु शरिरमा हालिदिएपछि आफू झोला एकठाउँमा राखेर शरीर कन्याउन लागेको र त्यही समयमा कसैले झोला लिएर गएको उनले प्रहरीलाई बताएका छन् ।
धेरै चिलाएपछि नजिकैको बाथरुमभित्र छिर्ने क्रममा मोटरसाइकलमा झोला राखेर भित्र छिरेका कँडेलले फर्कने क्रममा मोटरसाइकल नभएको पाएपछि आफू लुटिएको थाहा पाएका थिए । ।
प्रहरीले बैङ्कमा रहेको सिसिटिभी फुटेजका आधारमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । यो घटनापछि नेपालगञ्जमा सुरक्षा सतर्कता बढाउँदै नेपालगन्जबाट बाहिरिने नाकामा चेकजाँचमा कडाई गरिएको छ । प्रहरीले घटनाका समयमा देखिएका व्यक्तिसँग समेत सोधपुछ भइरहेको जनाएको छ ।