संशोधन प्रक्रियालाई अगाडि बढाउन सबैसँग समझदारी भइरहेको : प्रधानमन्त्री
सिरहा, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रक्रियालाई अगाडि बढाउन सबैसँग समझदारी भइरहेको बताएका छन् ।
आज सिरहाको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनले दलित, मधेसी, थारु, आदिवासी जनजातीसहित मधेस, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकोले शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाड्न खोजेको आरोप लगाए । उनले मधेसमा अहिले देशलाई विखण्डित गर्ने स्वरहरु सुनिन थालेको उल्लेख गर्दै आफ्नो देशविरुद्ध भड्काउनेहरुलाई नागरिकले नै तह लगाउनुपर्ने बताए । मधेसलाई बर्बाद गर्न चाहने, विखण्डित गर्न चाहने सबै मधेसका बैरीहरु हुन्, उनले भने, तिनीहरुको प्रतिवाद सबै मधेसीले गर्नुपर्छ ।
देशलाई विभाजित गरेर होइन देशलाई एकीकृत पारेर मात्र विकास र पहिचानका मुद्दालाई दरिलो पाराले उठाउन सक्ने उनले बताए ।
‘मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिदैन उनले भने नेपालको संस्कृती, भुगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँजिएको छ कि मधेस, पहाड र हिमाललाई छुट्टयाएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।