ट्रम्पविरुद्ध विश्वभर प्रदर्शन
एजेन्सी ९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आहृवान गरिएको प्रदर्शनमा लाखौं मानिस सहभागी भएका छन् । अमेरिकाका विभिन्न सहरका साथै विश्वका अन्य देशहरुमा पनि ट्रम्पविरुद्ध प्रदर्शन तथा र्याली भएको हो ।
विश्वभर ६०० भन्दा बढी र्याली भएका छन्, जसमा अपेक्षा गरिए भन्दा बढी मानिस सहभागी भएका थिए । विश्वभर उनका विरुद्ध प्रदर्शन भइरहँदा उनी भने गुप्तचर एजेन्सी सीआईएको हेडक्वाटर भ्रमणमा गएका थिए । र, उनले प्रदर्शनबारे केही बोलेका छैनन् ।
सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको राजधानी वाशिङटनमा भएको छ, जहाँ झण्डै ५ लाख मानिस सहभागी भएको अधिकारीहरुको अनुमान छ । ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेलगतै भएको यो प्रदर्शनको उद्देश्य महिला अधिकारलाई प्राथमिकता दिनु छ । किनकी हृवाइट हाउसको नयाँ प्रशासनले महिला अधिकारलाई संकटमा पार्ने अधिकारकर्मीहरुको आशंका छ ।
राष्ट्रपति चुनावमा ट्रम्पसँग पराजित भएकी हिलरी क्लिन्टलले प्रदर्शनका लागि धन्यवाद दिएकी छन् ।