म्यानचेस्टर युनाइटेड बढी कमाइ गर्ने क्लब
एजेन्सी, ६ माघ । इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेड विश्वमा सबैभन्दा बढी कमाइ गर्ने क्लब बनेको छ । म्यानचेस्टर युनाइटेडले गएको ११ वर्षदेखि विश्वको धनी क्लबका रुपमा रहेको स्पेनिस क्लब रियल मड्रिडलाईपछि पार्दै गएको सिजन बढी कमाइ गर्ने क्लब बनेको हो । म्यानचेस्टर युनाइटेडले गएको सिजन सन् २०१५–१६ मा ६ सय ८९ मिलियन युरो कमाइ गरेको डेलोइट्टेले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । गएको सिजन विश्वका ठूला २० क्लबको आम्दानी १२ प्रतिशतले बढेरेर ७।४ बिलियन युरो भन्दा धेरै पुगेको छ । यो अहिलेसम्मकै धेरै हो । डेलोइट्टेको वार्षिक आम्दानीको प्रतिवेदनमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा आएको सन् २००३–०४ को सिजनपछि पहिलो पटक हो । गएको सिजन बढी आम्दानी गर्ने क्लबको सूचिको दोस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोना छ । उसले गएको सिजनमा ६ सय २० दशमलव २ मिलियन युरो आम्दानी गरेको छ । सन् २०१४–१५ को सिजनमा शीर्ष स्थानमा रहेको रियल मड्रिड तेस्रो स्थानमा झरेको छ । रियल मड्रिडले गएको सिजन ६ सय २० दशमलव १ मिलियन युरो आम्दानी गरेको छ । ५ सय ९२ मिलियन युरो आम्दानी गरेको बार्यन म्युनिख चौथो, ५ सय २४ दशमलव ९ मिलियन युरो आम्दानी गरेको म्यानचेस्टर सिटी पाँचौं तथा ५ सय २० दशमलव ९ मिलियन आम्दानी गरेको पेरिस सेन्ट जर्मेन पिएसजी छैटौं स्थानमा छ । यस्तै चार सय ६८ दशमलव ५ मिलियन युरो आम्दानी गरेको आर्सनल सातौं, ४ सय ४७ दशमलव ४ मिलियन युरो आम्दानी गरेको चेल्सी आठौं, ४ सय ३ दशमलव ८ मिलियन युरो आम्दानी गरेको लिभरपुल नवौं तथा ३ सय ४१ दशमलव १ मिलियन युरो आम्दानी गरेको युभेन्टस दशौं स्थानमा छ ।