मकर स्क्रान्ति पर्व हर्सोउल्लासका साथ
काठमाडौँ, १ माघ । आज माघ १ अर्थात मकर स्क्रान्ति पर्व हर्सोउल्लासका साथ मुलुकभर मनाईदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिएको हो । माघीका रुपमा पनि चिनिने आजको दिनलाई बिशेष महत्वका साथ हेर्ने गरिन्छ ।
आज नजिकैको ताल, तलाउ , पवित्र नदि तथा त्रिवेणि स्नान गरि पुजाआजाका साथै जप दान गरि तीलको लड्डु , घिउ , चाकु , तरुल , खिचडि लगायका परिकार खाने परम्परा छ । नुहाईधुवाई गरी घिउ , चाकु तिलका लड्डु ,सागपात ,तरुल ,वस्त्र ,पानीको भाडो र मकरसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
यस्तै शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने मान्यताका साथ शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तेल मालिस पनि गर्ने गरिन्छ ।आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी , साखुको सालिनदी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । आजबाट उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दान गर्नु राम्रो मानिन्छ । आज भक्तपुरको तिलमाधव नारायणस्थानमा मेला लाग्ने गर्दछ ।