मधेशी मोर्चा निर्वाचनमा जान्नौं भन्नु अराजक : ज्ञवाली

भक्तपुर न्यूज

२९ पुष २०७३ ८:५५

मधेशी मोर्चा निर्वाचनमा जान्नौं भन्नु अराजक : ज्ञवाली

भक्तपुर, २९ पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले मधेशी मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको बिपरित गएर निर्वाचनमा जान्न भन्नु गलत भएको बताए । आफूलाई मधेशको हिमायती ठान्ने मधेशी मोर्चालाई मधेशको ८० सिट जितेर देखाउन चुनौती दिँदैं उनले आठ/दश सिट जितेर आएकाले संशोधनको कुरा गर्नु अराजक भएको बताए ।
उनले निर्वाचनमा गएर जनताको ताजा जनादेश ल्याएर आफू अनुकुल संबिधान संशोधन गर्न मोर्चालाई आग्रह गरे । निर्वाचनले नै सबैको उद्देश्य पुरा गर्ने भएकाले यसको उपयोगबाट चुके मधेशी मोर्चा ईतिहासमा सिमित हुने उनले बताए ।
उनले संबिधान कार्यान्वयनको पहिलो पाटो संशोधन नभएर निवार्चन भएको बताए । वर्तमान समयमा निर्वाचन सबैको मिलन बिन्दु भएको र संशोधन बिधेयक प्रतिपक्ष लगायतका दलहरुको बिरोधका माझ पनि होहल्लामा टेबल गर्नु संसदको मर्यादाको बिपरित भएको भन्दै उनले मन्त्री पदको लोभमा संशोधन गर्ने रणनीतिले संसदमा द्वन्द्व बढ्ने बताए ।
उनले मधेशी मोर्चाकै कारण संघियताका बारे गलत भ्रम फैलन थालेको भन्दै नेपालमा तराई र पहाड छुट्टाउने जातजातिबीच दुरी बढाउने लगायतको काम भइरहेको भन्दै संघियतालाई बिफल पार्ने काम बिभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाए ।
उनले सरकारले निर्वाचनको बाटो छाडी जसरी संबिधान संशोधनको बहानामा देशलाई द्वन्द्वमा लान खोजीरहेकाले यस्तो राष्ट्रघाती संशोधनको प्रस्तावको हरेक पक्षबाट प्रतिकार गरि बिफल पार्ने बताए ।
इतिहासमै नेपालको राष्ट्रियता सबैभन्दा नाजुक अवस्थामा रहेको भन्दै उनले संबिधान निर्माण र संशोधनको प्रक्रियामा नेपालको नितान्त आन्तरिक मामलामा छिमेकी मित्र राष्ट्रहरुलाई अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिए । उनले पछिल्लो समयमा नेपालको आन्तरिक मामलामा ठाडो र खुल्ला रुप मै वैदेशिक हस्तक्षेप भइरहेको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *