वरिष्ठ पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा निधन
काठमाडौं, २८ पुस । वरिष्ठ पत्रकार मणिराज उपाध्यायको ९४ वर्षको उमेरमा गएराति निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका पत्रकार उपाध्यायको विगत एक वर्षदेखि गंगालाल हृदयरोग अस्पतालमा उपचार भइरहेको थियो । उनको गएराति उपचारकै क्रममा निधन भएको हो ।
वरिष्ठ पत्रकार उपाध्यायले विक्रम संवत २०११ सालदेखि दैनिक समाज पत्रिकामा काम गरेका थिए । उनको एक्लो प्रयासमा यो पत्रिका २०५२ सालसम्म प्रकाशित भएको थियो । उनले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व गरेका थिए । उपाध्यायको आज बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी रहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
त्यसपछि उनी धर्मग्रन्थको अनुसन्धान र लेखनमा व्यस्त भएका थिए । उपाध्यायले पहिलेका कठिन दिनमा नेपाली समाजको परिवर्तनमा व्यवसायिक पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका थिए । पञ्चायतकालमा धेरैपटक उनी जेल समेत परेका थिए ।