एक महिने श्रीस्वस्थानी व्रत आज देखि सुरु

भक्तपुर न्यूज

२८ पुष २०७३ ४:४९

एक महिने श्रीस्वस्थानी व्रत आज देखि सुरु

काठमाडौं, २८ पुस । एक महिने श्रीस्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएकोे व्रत माघ शुक्ल पूर्णिमासम्म जारी रहने छ । हिन्दु धर्मावलम्बीहरुले आज बिहान माघ स्नान गरी मध्याह्न कालमा महादेवको पूजा गरिन्छ भने बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने प्रचलन छ ।
एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई चढाइन्छ ।
स्वस्थानीको ब्रत बस्दा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक जनविश्वास रहेको छ । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास रहिआएको छ ।
यो ब्रत विधीपूर्वक सम्पन्न गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने जनविश्वास रहिआएको छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।
ब्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । यसै अवसरमा काठमाडौको उत्तर पूर्वी भेगमा रहेको साँखुस्थित शालीनदीमा पनि एक महिनासम्म माघस्नान सहित माधवनारायणको मेला आज बाट नै सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *