तेरिया मगर भारतीय रियालिटी सो झलक दिखला जाको उपाधि नजिक
काठमाडौँ, २७ पुस । नेपालकी तेरिया फौजामगर भारतीय टेलिभिजन कलर्सको चर्चित रियालिटी सो झलक दिखला जाको उपाधि नजिक पुगेकी छन् । यसअघि उनले सन् २०१४ मा डान्स इण्डिया डान्स लिटिल मास्टरको उपाधि जितेकी थिइन् । १४ वर्षकी तेरियाले झलक दिखला जाको उपाधि जितेमा पुरस्कार स्वरुप ३० लाख भारतीय रुपैयाँ र एउटा कार प्राप्त गर्ने छिन । तेरियाले भारतीय डान्सर एवं झलक दिखला जाका पूर्व विजेता सलमान युसुफ खान र वर्ल्र्ड हिपहपका विजेता सानतनु महेश्वरीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्दैछिन् ।
गएको जुलाईमा सुरु भएको झलक दिखला जामा तेरिया वाइल्ड कार्डमार्फत प्रवेश गरेकी हुन् । उनले डिआइडी लिटिल मास्टरको उपाधि विजेता भएकाले च्यालेन्जरको रुपमा प्रवेश पाएकी हुन् । प्रतियोगिताको उपाधिका लागि जनवरी १४ देखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ हुँदैछ ।
तेरिया फौजा मगर फाउण्डेसनका अध्यक्ष एवं तेरियाका हजुरबुवा कृष्ण फौजा मगरले आफ्नो प्रतिभाका कारण उपाधि नजिक पुगेकी तेरियालाई झलक दिखला जाको उपाधि दिलाउनका लागि एसएमएस र अनलाइन भोटिङ गर्न आग्रह गरेका छन् । हरेक शनिबार नेपाली समय अनुसार राति सवा दश बजे कलर्स टेलिभिजनमा यो कार्यक्रम प्रशारण हुने गर्दछ ।
४० हजार प्रतिस्पर्धीलाई पछि पारेर डिआइडी लिटिल मास्टर बनेकी तेरियाले अर्को चर्चित उपाधि जित्नेमा हुजुरबुवा कृष्ण ढुक्क बनेका छन् । प्रतिभावान आफ्नी नातिनी तेरियालाई देशकै नामका लागि पनि सबैको सहयोग आवश्यक रहेको उनको भनाई छ ।