आज २ सय ९५ औ पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं, २७ पुस । आज २९५ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाइँंदै छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारीस्तरबाटै मनाइनुपर्ने र सार्वजनिक विदा दिइनुपर्ने आवाज उठिरहेका बेला जनस्तरबाट पृथ्वी जयन्ती मनाउन लागिएको हो । तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा योगदान र्पुयाएका थिए । वि सं २००७ सालपछि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउदै सार्वजनिक बिदा दिँदै आएकोमा लोकतन्त्रको स्थापनापछि भने सरकारले राष्ट्रिय स्तरबाट यो दिवसलाई खारेज गरेको छ ।
पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा भएका थिए । र ५३ वर्षको उमेरमा नै उनको निधन भयो । करिब तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत शाहले आफू राजा भएदेखि नै नेपाल एकीकरण अभियानको आरम्भ गरेका थिए ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुरहुँदै उनले एकीकरण अभियानलाई अघि बढाएका थिए । शाहले पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन ।
तत्कालीन बाइसे चौबीसे राज्यहरुलाई एकीकरण गरेर अहिलेको भन्दा झण्डै डेढ गुणा ठूलो नेपाल राष्ट्रको निर्माण गर्न पृथ्वीनारायण शाहले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।