पोर्चुगलको प्रजातन्त्रका पिता मारियो सोएरिसको निधन
एजेन्सी, २४ पुस । पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ । पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा गएराति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनको नेतृत्व गर्नु भएका सोएरिस सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलको प्रधानमन्त्री थिए । उनी सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति बने । उनलाई गएको महिना स्वास्थ्यमा समस्या देखिएपछि लिस्बोनको अस्पतालमा भर्ना गरिएको थियो ।
सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि उनी कोमामा गएको र कोमामै रहेका बेला उनको निधन भएको अस्पतालले जनाएको छ । उनको निधानका बारेमा थप विवरण भने अस्पतालले दिएको छैन । उनले सन् १९७४ मा भएको कारनेशन रिभोलुसनमा मुख्य भुमिका खेलेका थिए । यो आन्दोलनले ४८ वर्ष लामो सालाजर निरंकुश शासन अन्त्य गरेको थियो ।