संसद अवरुद्ध गर्ने विपक्षी दलको निर्णय
काठमाडौं, २४ पुस । एमालेसहितका विपक्षी ९ दलले आज बस्ने व्यवस्थापिका संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेका छन् । सरकारले संविधान संशोधन विधेयक पेश गर्न खोजेमा अवरुद्ध गर्ने निर्णय भएको बैठकपछि नेताहरुले बताएका छन् ।
एमालेले निर्वाचन र अन्य प्रक्रियाबारे सरकारको स्पष्ट दृष्टिकोण आएमा मात्र संसद्को जारी गतिरोध अन्त्य गर्ने जनाएको छ । संविधान संशोधन विधेयकबारे सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्न सरकारले त्यसलाई फिर्ता लिनुपर्ने एमालेको अडान छ ।
संविधान संशोधनको विधेयकका बारेमा प्रमुख दलबीच सहमति हुन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्की्विरुद्धको महाभियोग प्रस्ताव र निर्वाचनसँग सम्बन्धित विधेयकमाथिको छलफल एक महिनादेखि ठप्प छ ।
अहिले केहीबेरमा संसदको कार्यव्यवस्था समिति बैठकमा पनि दलहरुबिच छलफल हुँदैछ । कार्यव्यवस्थाको बैठकपछि सभामुख ओनसरी घर्तीले मुख्य ५ दल कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेतासँग छलफल गर्ने तयारी गरेकी छिन् । यस्तै, एमाले संसदीय दलको बैठक पनि बस्दैछ ।