दबाबमा नवलपरासीका एलडिओको सरुवा

भक्तपुर न्यूज

२४ पुष २०७३ ६:०५

दबाबमा नवलपरासीका एलडिओको सरुवा

नवलपरासी, २४ पुस । नवलपरासीका खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी बिक्री वितरण गर्ने कम्पनीलाई कारवाही प्रक्रिया अगाडि बढाएका स्थानीय विकास अधिकारी जीवलाल भुसाललाई सरुवा गरिएको छ । व्यवसायीको बिरोधपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले भुसाललाई सरुवा गरेको खुलासा भएको हो ।
स्मृति निर्माण सेवाको अवैध धन्दालाई नियन्त्रणका लागि पक्राउ गरेर जरिवाना लगाएपछि स्मृति निर्माणसँग सम्बन्धित व्यवसायी र नेपाली कांग्रेसका नेताले नवलपरासीका स्थानीय विकास अधिकारी भुसाल र योजना तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीलाई सरुवा गर्न खोजेका थिए । स्थानीय विकास अधिकारी भुसाल मंसिरको अन्तिम हप्ता बाँके जिबिसबाट सरुवा भएर नवलपरासी आएका थिए ।
भुसालले तीन हप्ताअघि केरुङ्गे खोलाबाट नदीजन्य पदार्थ संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा २७ ट्रिपरसहित ३० सवारी साधन नियन्त्रणमा लिएर ६५ लाख रुपैयाँ जरिवाना तोकेका थिए । स्मृति निर्माण कम्पनी नारायणी–९ नवलपरासीको नाममा जरिवाना तोकेपछि १६ ट्रिपर ३५ लाख राजश्व बुझाएर छुटेका छन् । अन्य ट्रिपर इलाका प्रहरी कार्यालय कावासोतीको नियन्त्रणमा छन् ।
सवारी साधन पक्राउसँगै भुसालले केरुङ्गे खोलामा संकलन गरी राखेका झण्डै ३० करोड रुपैंया बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रकृया अघि बढाएका थिए । त्यसपश्चात कारोबारमा संलग्न व्यवसायीहरु केही नेताको सहयोगमा भुसालको सरुवा गराउन मन्त्रालय दौडधुप गरेका थिए ।
शुक्रबार स्थानीय विकास मन्त्रालयले उनलाई धादिङ जिल्ला विकास समितिमा काज सरुवा गरेको छ । उनको स्थानमा स्थानीय विकास मन्त्रालय पञ्जिकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *