उपकुलपतिका लागि पाँच जना सिफारिस
काठमाडौं २२, पुस । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट गर्न गठित समितिले पाँच जनाको नाम सरकारलाई सिफारिस गरेको छ । करिब एक महिनादेखि काठमाडौं विश्वविद्यालय उपकुलपति बिहीन छ । छनोट समितिमा बिबाद भएपछि सरकारले प्रा डा भोला थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो ।
शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको छनोट समितिले शुक्रबार प्रा डा जनार्दन लामिछाने, प्रा डा भोला थापा, प्रा डा रामकण्ठ माकाजु, प्रा डा भद्रमान तुलाधर र मनप्रसाद वाग्लेको नाम सिफारिस गरेको हो । अब सरकारले यी पाँच जनामध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछ ।
थापा हाल काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपति छन् भने रामकण्ठ माकाजु निवर्तमान उपकुलपति हुन् । माकाजुको पदावधि मंसिर २६ गते सकिएपछि काठमाडौं विश्वविद्यालय उपकुलपति विहीन छ ।
यसैगरी लामिछाने वायो टेक्नोलोजी बिभागको प्रमुख तथा नाष्टको प्राज्ञ हुन् । एसियाली राष्ट्रको विकासका लागि भन्दै चीनले ल्याएको ‘वान बेल्ट वान रोड’ रणनीतिमा चीनले विज्ञको रुपमा लामिछानेलाई पनि राखेको छ । यस रणनीतिमा विज्ञको रुपमा चीनले छनोट गरेको उनी एकमात्र नेपाली हुन् ।
७८ वर्षीय भद्रमान तुलाधर पूर्वरजिष्ट्रार हुन् भने शिक्षाविद भनेर चिनिने मनप्रसाद वाग्ले काठमाडौं विश्वविद्यालयका पूर्वडिन हुन् । सिफारिसमा परेकाहरुमध्ये बहालवाला लामिछाने र थापा मात्रै छन् । यसअघि काठमाडौं विश्वविद्यालयका प्राध्यापक संघले प्रा। डा। जनार्दन लामिछाने, प्रा डा भूपेन्द्र विमल क्षेत्री र प्रा। डा। कन्हैया झामध्ये एक जनालाई उपकुलपति बनाउन माग गर्दै शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । तर, शिक्षामन्त्री संयोजकत्वको छनोट समितिले सिफारिस गरेका पाँच जनाको नामावलीमा क्षेत्री र झा परेका छैनन् । सरकारले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मंसिर १३ गते उपकुलपति सिफारिस गर्न छनोट समिति गठन गरेको थियो । समितिमा प्रा सुरेशराज शर्मा र दमननाथ ढुंगाना सदस्य छन् ।