स्थानीय तह पुनर्संरचना आयोगले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो
काठमाडा्ैं, २२ पुस । स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन संविधान कार्यान्वयनका लागि महत्वपूर्ण दस्तावेज भएको बताए । उनले यसको छिट्टै कार्यान्वयन गर्ने पनि बताए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोगले बुझाएको प्रतिवेदन शीघ्र कार्यान्वयनमा लैजाने बताउँदै कार्यान्वयनको आवश्यक गृहकार्य गर्न स्थानीय विकासमन्त्री हितराज पाण्डे र नेपाल सरकारका मुख्य सचिव डा। सोमलाल सुवेदीलाई निर्देशन समेत दिएका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डले सरकारको प्राथमिकताको यथार्थ बुझेर आयोगले तोकिएकै समयमा काम सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए ।
यसैगरी प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रधानमन्त्री, सरकार, स्थानीय विकास मन्त्रालय र दलहरुको सकारात्मक सहयोगले समयभन्दा अगावै प्रतिवेदन बुझाउन सकिएको बताए ।
आयोग स्रोतका अनुसार महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव गरिएको छ । काठमाडौं, ललितपुर, चितवन र पोखरा महानगर बनाउन प्रस्ताव गरिएको छ ।
आयोगले महानगर प्रस्ताव गरेकामध्ये चितवनमा साविकको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने तथा कास्कीमा साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका जोडिनेछ ।
आयोगको सुझावअनुसार विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटहरी, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र टिकापुर उपमहानगर बन्नेछन् ।