रियल मड्रिड लगातार ३८ खेलमा अपराजित
एजेन्सी, २१ पुस । रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्याएको छ । रियल मड्रिडले स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सेभिल्लालाई ३–० ले हराउँदै अपराजित यात्रालाई ३८ खेलसम्म पुर्याएको हो ।
घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियल मड्रिडलाई जिताउन जेम्स रोड्रिग्वेजले दुई तथा राफाएल वारानेले एक गोल गरे । रियल मड्रिडले तीनै गोल पहिलो हाफमा गरेको हो । ११ औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । त्यसको तीन मिनेटपछि पाएको पेनाल्टीको अवसरमा रोड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । क्रिष्टियानो रोनाल्डो बिना खेलको रियलका लागि २९ औं मिनेटमा वारानेले गोल गरे । रियल मड्रिडले सबै प्रतियोगितमा गरेर पछिल्ला ३८ खेलमा अपराजित छ । यसमा २९ खेल जितेको छ । ला लिगामा लगातार धेरै खेल जित्ने कीर्तिमानसँग बराबरी गर्न रियल मड्रिडलाई अब एक जितको खाँचो छ ।
गएराति नै भएको अर्काे खेलमा रियल सोसिडाडले भिल्लारियललाई ३–१ ले हराएको छ । यस्तै एल्कोर्कोन र कार्डोबाले गोल रहित बारबरी खेले ।