भारतीय सेनाको चेतावनी : पाकिस्तान र चीनसँग युद्धका लागि तयार छौं
एजेन्सी, २० पुस । भारतीय सेना प्रमुख जनरल बिपिन रावतले आफूहरु एकसाथ पाकिस्तान र चीन दुवै देशसँग युद्धका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । भारतले अग्नि ५ मिसाइल परीक्षण गरेपछि विरोधमा उत्रेको चीनलाई जबाफ दिँदै सेना प्रमुख रावतले यस्तो बताएका हुन् । हामी दुवै देशसँग लड्न तयार छौँ तर पनि हामी शान्ति चाहन्छौँ, युद्ध होइन, उनले भारतीय सञ्चारमाध्यमसँग भनेका छन् ।
भारतले सफल परीक्षण गरेको अग्नि ५ मिसाइलको मारक क्षमता ५ हजार किलोमिटरसम्म रहेको छ। यो मिसाइलले चीनको जुनसुकै भुगोलमा पनि सजिलै क्षति गर्ने सक्ने दाबी भारतीय सेनाको छ । चीनले यो मिसाइललाई आफ्नो भूमिमा आक्रमण गर्नैका लागि भारतले बनाएको दाबी गर्दै आएको छ । चीनले यो मिसाइलबारे राष्ट्र संघ सुरक्षा परिषद्मा उजुरी गर्ने चेतावनी दिइरहेका सन्दर्भमा भारतीय सेना प्रमुखको यस्तो भनाई आएको हो ।
जहासम्म हाम्रो सेनाको सवाल छ । हामी त दुवै मोर्चामा युद्धका लागि पुर्णरुपमा तयारी अवस्थामा छौँ, उनले भनेका छन्, चाहे जस्तोसुकै लडाइँ होस अब भारतीय सेना दुबै देशसँग युद्ध गर्न पुरा सक्षम भइसकेको छ। उनले भारतको राजनीतिक नेतृत्वले जे भन्छ आफूहरु त्यसका लागि तयार भएको पनि बताएका छन् । उनले चीनसँग जोडिएको उत्तरी सीमानाको प्रसङ्ग निकाल्दै भारतीय सेनाले वास्तविक नियन्त्रण रेखा नजिक सौहार्दपूर्ण सम्बन्ध बनाउनका लागि केही विधि अपनाइरहेको पनि बताएका छन् । जनरल रावतले आफूहरु बिनाकुनै कारण चीनसँग टकराव गर्ने अवस्थामा नरहेको पनि उल्लेख गरेका छन् । हामी चीनसँग टकराव गर्ने पक्षमा छैनौँ, उनले भनेका छन्, हामी चीनसँग सहयोग र मित्रताको अपेक्षा गर्छौँ ।
अघिल्लो महिना आफ्नो अवकाश भन्दा अगाडि पूर्व एयर चिफ मार्शल अरूप राहाले पनि भारत केवल प्रतिरोधक क्षमता विकसित गर्न लागेको बताउँदै परिआए जोसुकै सँग युद्धका लागि तयार रहेको उल्लेख गरेका थिए ।