अभिनय गर्दा गर्दै अस्ताए कलाकार विष्णुभक्त फुयाँल
काठमाडौं, २० पुस । नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको हिजो निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक महर्षि यज्ञ बैल्क्यमा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएका थिए ।
नाटकमा अभिनय गर्दै गर्दा उनी एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि काठमाण्डौको वीर अस्पताल पु¥याइएको थियो । हाँस्य सिरियल तितो सत्यमा उनले काम गरेका थिए । यो सिरियलमा उनी कलाकार दीपाश्री निरौलाको बुबाको भूमिकामा देखिएका थिए । साथै, थुप्रै चलचित्रमा पनि उनले अभिनय गरेका थिए ।
रंगकर्ममा नै काम गर्दा गर्दै मर्न पाउँ भन्ने फुयाँल अन्ततः नाटकमा अभिनय गर्दा गर्दै सबैलाई छाडेर बिदा भएका छन् । तितो सत्यमा योर माई लभ नाम थेगोका कारण उनी चर्चित बनेका थिए ।
तीन छोराका पिता रहेका फूयाँल पछिल्लो केहि वर्षदेखि बौद्ध स्थित पानी ट्याङ्कीमा एक्लै बस्दै आएका थिए । फुयाँलको अन्तिम संस्कार आज गरिने छ ।