संशोधन विधेयक फिर्ता नलिए माओवादीले सरकारबाट हात धुने : बिजुक्छें

भक्तपुर न्यूज

१८ पुष २०७३ ८:०६

संशोधन विधेयक फिर्ता नलिए माओवादीले सरकारबाट हात धुने : बिजुक्छें

१८ पुस । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नु पर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले सार्वभौम सरकारले भित्रि वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताउँदै मधेशी मोर्चाका नेताहरुको परिवर्तन हुने बानी मधेशकै जनताले बुझिसकेका कारण तोकिएकै समयमा निर्वाचन गरिनु पर्ने बताए ।
मधेशी मोर्चा बिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेंले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्न सकिने र बाँकि रहेका स्थानमा पछि निवार्चन गर्न सकिने बताए ।
उनले संसदमा संशोधन बिधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसदबाटै निर्वाचन सम्बन्धि बिधेयक पास गरि तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताए ।
वर्तमान सरकारले संशोधन बिधेयक फिर्ता नलिए माओवादीले सरकारको नेतृत्व गुमाउने अवस्था देखिएको भन्दै संशोधन बिधेयक नेपालीको चाहना बिपरित छिमेकीको इशारामा आएको र काँग्रेसले दाँते ओखर भनि नफुट्ने ओखर माओबादीलाई दिएर अल्झाई रहेको बिजुक्छेंंको भनाई छ ।
निर्वाचन अघि नै सत्ता समिकरण बद्लन सक्ने अवस्था हिजो पनि रहेको र आज पनि रहेको भन्दै बिजुक्छेंले माओवादीकै कारण एमाले र काँग्रेसको समिकरणमा नयाँ सरकार बन्ने टिप्पणी गरे ।
उनले नेपाली सरकारले नेपालीको चाहना भन्दा पनि भारतले जे जे भन्छ त्यही अनुसार काम गर्नु नेपाली नेताहरुको कम्जोरी रहेको र यसले नेपालको सार्वभौममा असर पारेको बताए ।
उनले अंगिकृत नागरिकलाई जसरी जन्मसिद्ध नागरिक सरह अधिकार दिने चलखेल हुँदै छ, दक्षिण तर्फका लागि मात्र नभएर उत्तर तर्फकाले समेत यो अधिकार मागे नेपाली भन्दा बिदेशी जनसंख्या बढी हुने र नेपाली अल्पमतमा पर्ने दावी गरेका छन् ।
दुई चिसो काटिसकेका भुकम्प पिडितहरुले अझै पनि प्राधिकरणको सिओ कै बिवादका कारण राहत तत्कालै पाउनेमा शंका रहेको बताउँदै प्रधानमन्त्रीले भेट नदिनु सिओ परिवर्तनको खेल भएको र भारतबाट पिडितका लागि खरिद गरिने सामानको कमिसन प्रमुख रहेको उनले बताए ।
उनले भारतको एकाधिकार पूँजी हावी भएको र नेपालका लागि भारतका राजदुत रे को गतिबिधि कुटनीतिक मर्यादा बिपरित भएको भन्दै राजदुत रे ले नेपाल माथि ठाडो हस्तक्षेपकारी भूमिका खेलिरहको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *