फाइनल प्रवेशको लागि आज नेपालले भारतसँग खेल्दै
काठमाडौं, १८ पुस । चौथो साफ च्याम्पियनसिप महिला फुटवलको फाइनल प्रवेशको लागि आज नेपालले भारतसँग खेल्दैछ । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल दिउँसो सवा २ बजेपछि पहिलो सेमिफाइनल खेल हुनेछ ।
सेमिफाईनलमा भारतलाई हराउन सके नेपालको उपाधी हात पार्ने सम्भावना बलियो हुने छ । भारत बाहेक दक्षिण एशियाका कुनै पनि अन्य टोलीले नेपाललाई पराजित गर्न सकेका छैनन् । च्याम्पियनसिपको अघिल्लो तीन संस्करणमा फाइनलमा भारतसँग पराजित भएको नेपाल अर्को ऐतिहासिक भीडन्तका लागि तयार भएको छ । यसअघि नेपाल र भारतबीच ७ पटक भिडन्त भइसकेको छ । जसमा नेपालले एक पल्ट मात्र खेललाई बराबरीमा रोकेको छ । बाँकी ६ खेलमा पराजय भोगेको छ । यसमध्ये पनि ५ खेलमा नेपाल फाइनलमा पराजित भएको थियो ।
पटक पटकको पराजयको पीडा भुल्दै उपाधी घर ल्याउन टोलीलाई उच्च मनोवलका साथ मैदानमा उतार्ने नेपाली टोलीका प्रशिक्षक कुमार थापाले बताएका छन् ।
आजै दोस्रो सेमिफाईनलमा माल्दिभ्स र बंगलादेशबीच खेल हुने छ ।