आजबाट अंग्रेजी नयाँ बर्ष २०१७ सुरु
काठमाडौं, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजबाट नयाँ वर्ष इस्वी सन् २०१७ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको हो । सनमा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा संग्लन डा शास्त्रदत्त पन्त बताउँछन् ।
इस्वी सनमा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो उनले भने । पोप ग्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटीको दाबी छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।