एक्कासी ३० अंकले बढ्यो नेप्से
काठमाडौं, १४ पुस । विगत एक महिनासम्म दोहोरो अंकले बढ्न नसकेको नेप्सेले आज भने एक्कासी ३० अंकको फड्को मारेको छ । कारोबार भएको विगत एक महिनालाई हेर्दा नेप्से जम्मा ६ दिन मात्रै उक्लिएको छ, त्यो पनि एकल अंकमा ।
आज बजारमा कारोबार रकम पनि सुधार भएको छ। ५६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भयो । लामो समयपछि उच्च अंकले बजार बढेपछि लगानीकर्तामा हौसला बढेको छ । जसका कारण मार्केट डेप्थ हेर्दा पनि खरिदकर्ताको चाप बढेको देखिन्छ ।
यस दिन बिमा २८६, होटल ५५, बैंक २८, विकास बैंक २०, जलविद्युत १०, फाइनान्स २१ र अन्य समूह १ अंकले बढेका छन्।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीले भर्खर धितोपत्र बोर्डबाट एफपिओ निश्कासनको स्वीकृति पाएपछि कारोबार बढ्न गएको हो । उसको ५ करोड ७० लाखको कारोबार हुँदा सेयर मूल्य पनि बढेर प्रतिकित्ता २८ सय पुगेको छ ।
नेपाल टेलिकम तथा बैंक अफ काठमाण्डु लुम्बिनी पनि कारोबारका आधारमा उत्कृष्ट तीनभित्र पर्न सफल भए । एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ९.८ प्रतिशत मूल्य कमाए । युनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले क्रमशः ८.९ र ७.३ प्रतिशत मूल्य कमाए ।
बजार बढ्दा ललितपुर फाइनान्सका लगानीकर्ताले उच्च ५ प्रतिशत मूल्य गुमाएका छन् ।