इजरायली बस्ती हटाउने प्रस्तावको अमेरिकाद्वारा बचाउ
एजेन्सी, १४ पुस । अमेरिकाले अवैध इजरायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव इजरायल र प्यालेस्टाइनको दुई हितका लागि रहेको भन्दै बचाउ गरेको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पारित गरेको अवैध इजरायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव दुई देशको शान्तिका लागि रहेको बताएका छन् । दुई देशलाई गम्भीर नोक्सानीबाट जोगाउनका लागि प्रस्ताव पारित गरिएको उनको भनाई छ ।
सुरक्षित इजरायल र व्यवहारिक प्यालेस्टाइन बिना त्यो क्षेत्रमा साँचो अर्थमा शान्ति नआउने केरीको भनाई छ । अवैध बस्ती हटाउने प्रस्तावले शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी विदेशमन्त्री केरीको भनाई छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी नीतिमा गम्भीर बदलाव आएको भन्दै निराशा व्यक्त गरेका छन् । परम्परागत रुपमा इजरायलको समर्थक रहँदै आएको अमेरिकाले गएको शुक्रबार सुरक्षा परिषदमा प्रस्ताव पारित हुन नदिन भिटो प्रयोग गरेन । यसले गर्दा प्रस्ताव पारित भयो । आफूहरु शान्तिको चाहना राख्ने तर प्यालेस्टाइन त्यसको विपक्षमा रहेको इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाई छ ।
इजरायलले सन् १९६७ मा वेष्ट ब्यांक र पूर्वी जेरुसेलम प्यालेस्टाइनबाट नियन्त्रणमा लिएको थियो । त्यसबेलादेखि यि दुई क्षेत्रमा एक सय ४० बस्तीमा पाँच लाख यहुदी बस्दै आएका छन् । अन्तर्राष्ट्रिय कानुन अनुसार यि बस्ती अवैध हुन् । तर इजरायलले अस्वीकार गर्दै आएको छ ।