साहित्यकार दीक्षितको निधन
काठमाडौं, १४ पुस । साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई श्वास प्रश्वासमा समस्या भएपछि गत सोमबार अस्पताल भर्ना गरिएको थियो । वि.सं. १९८६ साल भदौ कुशे औंसीका दिन काठमाडौंको गौरीधारामा जन्मेका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए ।
दीक्षितको सकृयतामा नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित सामग्रीहरूको अभिलेख राख्ने उद्देश्यका साथ २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो । गुठी मार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति प्रदान गरिने मदन पुरस्कार (२०१२ सालदेखि) र नेपाली भाषाको श्री–वृद्धिका लागि योगदान वापत प्रदान गरिने जगदम्बा–श्री पुरस्कार (२०४५ सालदेखि) प्रदान गरिदै आएको छ ।
दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।
यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक–जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल–भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए ।
दीक्षितका दुई छोरा र एक छोरी छन् ।