भक्तपुरको बालुवा सक्नेलाई हलुवा
भक्तपुर । हजारौ ट्रिपर बालुवा एकाएक गायव सिडियोको सरुवा भएसँगै भक्तपुरमा बालुवा चोरीमा संलग्न तस्कर झनै सक्रिय मिलेमत्तोमा बालुवा चोरी हुने गरेको खुलासा भक्तपुरको बालुवा जहिले पनि चर्चाको बिषय बन्नु कुनै नौलो नभएको बालुवाका जानकारहरु बताउँछन् ।
सेतो हात्तिका रुपमा परिचित भक्तपुरको बालुवामा सक्नेकै राजको परम्परा चलिआएको छ । सरोकारवालाहरुको राम्रो आम्दानीको माध्यम बनेको बालुवा धेरैका लागि आर्थिक हलुवा समेत बनेको छ । बालुवाको आम्दानीमा सरोकारवाला रमेकै कारण अवैध बालुवाको तस्करीलाई चाहेर पनि कसैले रोक्न नसेको बताउँछन्, खानी आसपास क्षेत्रका स्थानियहरु । उनीहरु भन्छन्, भक्तपुर जिल्ला बिकासका केही कर्मचारीको राम्रो आम्दानी बनेकै कारण अवैध रुपमा बालुवाको दोहन अख्तियारले रोक लगाउँदा लगाउँदै पनि निरन्तर चलिरहेको छ । कारवाही गर्ने निकायका कर्मचारी नै आर्थिक प्रलोभनमा परि अवैध बालुवा उत्खननलाई प्रोत्साहान दिएको आरोप समेत बालुवाका जानकारहरुको रहेको छ । बालुवाको चास्नीकै कारण प्रहरी प्रशासान केबल मुक दर्शक बनेका छन्, भने प्रहरीले अवैध बालुवाका ट्रिपर समातेको अभिनय गरेर आम्दानीको माध्यम बनाएको समेत चर्चा परिचर्चा यती बेला भक्तपुरमा नचलेको होइन । बालुवाको सेटिङकै लागि महानगरिय प्रहरी बृत थिमिका प्रमुख केही समय अघि केही बालुवा सञ्चालकहरुसँग तेलकोटको एक होटेलमा लोकल भाले खाँदै मेलमिलापको बाटो बनाएको स्रोत बताउँछ । यस्ता थुप्रै साँठ गाँठले बालुवाको आर्थिक चास्नीका अघि तैं चुप मैंं चुप देखिन्छ प्रहरी पनि । आकल झुकल अवैध बालुवाको ट्रिपरहरु समातेर सस्तो चर्चा भने बटुल्न चुकेको छै भक्तपुरमा प्रहरी, प्रशासनका एक कर्मचारी नाम उल्लेख नगरिदिने शर्तमा बताउँछन् । उनी भन्छन्, सबैको राम्रो आम्दानी भएकै कारण भक्तपुरका बालुवामा सक्नेकै राज चलेको छ ।
स्थानीयका अनुसार प्रशासनले केहि ट्रिपर बालुवा नियन्त्रणमा लिएर देखावटी मात्र काम गरेको र प्रशासनकोे मिलेमत्तोमै बालुवा चोरी हुने गरेको दावी उनीहरु गर्छन् । प्रहरीबाट सिभिलमा खटिनेहरुले सेटिङ मिलाएर कमिसन नबुझाउनेको मात्र ट्रिपर नियन्त्रणमा लिने गरिएको बालुवा खरिद बिक्रिमा सक्रियहरु बताउँछन् । भर्खरै मात्र भक्तपुर प्रहरी प्रमुखका आएकी किरण राणा प्रहरीले चाहेर मात्र केही गर्न नसक्ने भन्दै सम्पूर्ण जिल्लाको सुरक्षा अवस्थालाई ध्यान दिएर प्रहरीले काम गरिरहेको बताउँछिन् । उनले भनिन् प्रहरीले जानकारी पाएसम्म अवैध बालुवा बोकेका सवारी साधन नियन्त्रण लिएर कारवाहीका लागि सरोकारवाला निकाय जिल्ला बिकासमा बुझाउँदै आएको छ । पाँच महिना बिति सक्दा पनि जिल्ला विकास समितिलाई जिल्लास्तरीय अनुगमन समितिले हजारांै ट्रिपर बालुवा रातारात थुप्रो बनाइराखेको प्रतिवेदन बुझाएको थियो तर अवैध बालुवा हाल सो स्थानमा भेट्न सकिँदैन । स्थलगत निरीक्षणको क्रममा हजारौं ट्रिपर बालुवा रातारात डोजर प्रयोग गरि थुपारि राखेको अवस्थामा फेला परेको थियो । जिल्लाका विभिन्न ठाउँमा विभिन्न समयमा गरिएको अनुगमनको क्रममा तयार पारि बुझाइएको प्रतिवेदनअनुसार विभिन्न दस ठाउँमा हजारांै ट्रिपर बालुवा थुपारिएको भएपनि अहिले ती बालुवा एकाएक गायव भएका छन् । गुण्डागर्दी र शक्तिको आडमा गिरोहले तलदेखि माथिसम्म सेटिङ मिलाएर अवैध बालुवा चोरी निकासी गरेपछि रातारात थुपारी राखिएको अवैध बालुवा गायव भएको हो ।
विभिन्न ६ पटकमा गरिएको अनुगमनको क्रममा बुझाइएको ६ वटा प्रतिवेदनलाई आधार मान्दा सबैभन्दा बढी बालुवा चाँगुनारायण नगरपालिका–१३ सविक दुवाकोट गाविस भवन नजिक सडक छेउमा अन्दाजी ८ सय ५० निसान गाडी बालुवाको थुप्रो फेला परेको उल्लेख छ । प्रतिवेदनअनुसार स्थानीयसँग बुझ्दा खानी सञ्चालक विदुर आलेको हो भनी पुष्टि हुन आएको र निजलाई सम्पर्क गर्दा फोन नउठेको तथा सम्पर्क हुन नसकेको उल्लेख छ । सञ्चालक आलेसँगको सरोकारवालाहरुको मिलेमत्तोमा सो बालुवा बिक्रि भइसकेको समेत जिल्ला बिकास समितिका एक कर्मचारी बताउँछन् । सोही क्षेत्रको करिब सय मिटर उत्तर चाँगुतर्फ जाने बाटोमा लगभग एक सय निसान गाडी बालुवाको थुप्रो बेवारिसे अवस्थामा फेला परेको थियो सो पनि आर्थिक चलखेलकै कारण बिक्रि भइसकेको देखिन्छ । त्यसैगरी, दुवाकोटवेसी स्थित परोपकार विद्यालय पछाडि सडकमा प्रेमा लामा नामकी महिलाले अन्दाजी १६ निसान गाडी बालुवा थुपारेको, चाँगुनारायण न.पा.स्थित मदन अवालको खानीक्षेत्रमा ठूलो क्षेत्रमा जग्गा प्लानिङ गरेजस्तो गरि अधिक मात्रामा बालुवा झिकी रहेको र मजदुरबाट जानकारी लिँदां अनिल खड्काको प्लटिङ भन्ने खुल्ल आएको, निजले अन्दाजी १ सय २० निसान गाडी जति थुप्रो लगाइएको अनुगमन टोलीले निरीक्षणका क्रममा फेला पारेको थियो । तर हाल सो बालुवा कहाँ छ भन्ने जानकारी कतै पनि भेट्न सकिँदैन । जिल्ला विकास समितिलाई बुझाइएको प्रतिवेदनअनुसार सोही स्थानको दाहिने पाटोमा प्लानिङ गरेजस्तो गर्दै ठूलो रासीमा दिपक कोइराला र देवन्द्र भन्ने ब्यक्तिले अन्दाजी २ सय ६० निसान गाडी बालुवा थुप्रो लगाएको फेला परेको थियो प्रतिवेदनअनुसार, तर हाल बालुवा सो क्षेत्रमा देख्न सकिँदैन । प्रतिवेदनअनुसार नै चाँगुनारायण नपा–१६ बेसी टोल भन्ने स्थानमा मुकुन्द थापाले उत्खनन गरि राखेको अन्दाजी २ सय ५० निसान गाडी पनि हाल फेला पार्न सकिँदैन थापाले पनि सेटिङ् मिलाएर बालुवा बिक्रि गरिसकेको जिल्ला बिकासका कर्मचारीहकरु बताउँछन् ।
सोही टोलमै सरोज थापाले उत्खनन गरि राखेको अन्दाजी २० निसान गाडी बालुवा, चाँगुनारायण नपा–६ झौखेल स्थित राजेन्द्र अगान्जाले पहिले संचालन गरेको खानी क्षेत्रमा हाल उत्खनन गरि अन्दाजी ४० गाडी निसान बालुवा थुपारी राखेको अवस्थामा फेला परेको थियो । त्यसैगरी, चाँगुनारायण नपा–६ झौखेलस्थित सत्य नारायण आचार्यले उत्खनन् गरी राखेको अन्दाजी १० निसान गाडी बालुवा, सरस्वतीखेल बसपार्क नजिकै सपिन्द्र कुवरले ठूलाठूला दुई थुप्रो बालुवा थुपारेको अन्दाजी १ सय ५० निसान गाडी, बोडे सरस्वतीखेल कृषि विकास तालिम केन्द्रको दक्षिण पूर्व स्थानमा अन्दाजी ३० निसान गाडी बालुवा थुपारेर राखेको अवस्थामा फेला परेको र सो बालुवाको पहिचान नभएको, मनोहरा खोलाबाट राती राती ब्यक्तिहरुले बोरामा थुप्प्रो बनाई बालुवा निकाल्दै तत्काल विक्री गर्ने गरेको छन् भनी जानकारी आउँदा सो स्थानमा जाँदा रातारात भवन निर्माणमा खुलमखुला बालुवा चोरी भएको उल्लेख छ ।
प्रतिवेदनमा जनाइएअनुसार अवलोकनका क्रममा साना साना बालुवाका थुप्रोहरु धेरै ठाउँमा फेला परेपनि वेवारिसे अवस्थामा रहेको जिल्ला विकास समितिलाई बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विभिन्न ६ वटा प्रतिवेदनमा गत असार २१, २२ र २६ गते गरिएको स्थलगत निरीक्षण, गत बैशाख ७ गते उर्जा अधिकृत प्रकास ज्ञवालीले पेश गरिएको प्रतिवेदन, गत बैशाख ३१ मा ६ वटा राजनीतिक दलका प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधिले बुझाएको प्रतिवेदन, गत जेठ २ गते गोकुल कार्कीले बुझाएको प्रतिवेदन, गत जेठ ९ गते विदुर कुमार थापा र सिताराम सैंजुले स्थानीय विकास अधिकारी समक्ष उत्खनन् तथा वेचविखत गर्ने छैनौ भन्ने ब्यहोराको कागजको अध्ययन र गत असार ९ गते गोकुल थापाको प्रतिवेदन समोवश गरी तयार पारेको जिविसको प्रतिवेदनमा अन्दाजी १५ सय ट्रिपर बालुवा फेला परेको थियो । तर हाल सो बालुवा तलदेखि माथिसम्म सेटिङ मिलाएर गायव गरिएको छ । यसका अलावा प्रतिवेदनमा उल्लेख नभएको हजारौं हजार ट्रिपर बालुवा अहिलेसम्म चोरी भइसकेको खुल्न आएको छ ।
स्रोतका अनुसार दैनिक तस्करहरुले सयौ ट्रिपर बाुलवा प्रहरी प्रशासनसँग मिलेर चोरी निकासी गरिरहेका छन् । गुण्डागर्दी र शक्तिको आडमा रातारात बालुवा चोरी निकासी हुँदा रातभर दर्जनौ ट्रिपर सडकमा चल्ने गरेको स्थानीयको भनाइ छ । रातभर दर्जनौ ट्रिपर प्रयोग गरेर बालुवा चोरी हुँदा पनि प्रहरीले देखावटी रुपमा मात्र केहि ट्रिपर नियन्त्रणमा लिने गरेको स्थानीयको भनाइ छ । यता महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लामा अवैध बालुवा खानी चोरी निकासी ब्यापक बनेपछि केहि ट्रिपर बालुवा नियन्त्रणमा लिएपनि खुलमखुल्ला चोरीनिकासी भइरहेको छ ।
भक्तपुरमा आएका नयाँ प्रमुख जिल्ला अधिकारीको द्रोण पोखरेलले अवैध धन्दा गर्ने जो कोहीलाई नछाड्ने बताए । अनियमित तरिकाले गैरकानुनी कार्य गर्ने जो कोहीलाई छाडदिन, प्रजिअ पोखरेलले भने । करिब दुई वर्षअघि जिल्ला विकास समितिको खानी सम्बन्धी फाइल अख्तियारले अनुसन्धानको लागि लगेको छ । जिविसका २६ वटा खानीसम्बन्धी फाइल अख्तियारले लगेपछि अवैध बालुवा चोरी निकासीले झनै मौलाएको स्रोत बताउँछ । जिविसले नयाँ खानी खुलाउन नयाँ ठेक्का आह्वान नगरेपछि खानी सम्बन्धि उत्खनन्मा रोक लगाइएको छ ।