म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित
एजेन्सी, १२ पुस । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति घरेलु मैदान वल्ड ट्राफर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले सन्डरल्याण्डलाई ३–१ ले हरायो ।
युनाइटेडलाई जिताउन डेली ब्लाइन्ड, जाल्टन इब्राहिमोविच र हेनरिक खितर्यानले गोल गरे । सन्डरल्याण्डका लागि फाबियो बोरिनीले एक गोल फर्काए । ३९ औं मिनेटमा ब्लाइन्डले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ब्लाइन्डले यो सिजनमा पहिलो पटक गोल गरेका हुन् । ८२ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । इब्राहिमोविचले प्रिमियर लिगमा १२ गोल गरेका हुन् । त्यसको चार मिनेटपछि खितर्यानले युनाइटेडका लागि अर्को गोल गरे । इन्जुरी समयमा सन्डरल्याण्डका बोरिनीले एक गोल फर्काएपछि युनाइटेड ३–१ ले विजयी भयो ।
जितपछि युनाइटेड १८ खेलबाट ३३ अंकसहित छैटौं स्थानमा छ । १४ अंकसहित सन्डरल्याण्ड १८ औं स्थानमा छ ।