प्रिमियर लिगमा चेल्सीको लगातार १२ जितको कीर्तिमानी
एजेन्सी, १२ पुस । इंग्लिस प्रिमियर लिगमा चेल्सीले लगातार १२ औं जित दर्ता गर्दै कीर्तिमान बनाएको छ । गएराति चेल्सीले बर्नमाउथलाई ३ –० गोल अन्तरले पराजित गर्दै लगातार १२ औं जितको कीर्तिमान बनाएको हो ।
चेल्सीले लिगमा लगातार १२ जित दर्ता गर्दै सन् २००९ मा बनाएको क्लबको कीर्तिमान तोडेको हो । चेल्सीले सन् २००९ को अप्रिलदेखि सेप्टेम्बरसम्म ११ खेलमा विजयी भएको थियो । प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान भने आर्सनलको नाममा छ । उसले सन् २००२ मा लगातार १४ खेलमा जित निकाल्दै कीर्तिमान बनाएको थियो ।
चेल्सीका पेड्रो र इडन हजार्डले एक एक गोल गरेका थिए । यस्तै बोर्नमाउथका कुकले इन्जुरी समयमा आत्मघाती गोल चेल्सीलाई उपहार दिए ।
खेलको २४ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । दोस्रो हाफ सुरू भएको केही समयपछि ४९ औं मिनेटमा पाएको पेनाल्टी हजार्डले गोलमा परिणत गरेपछि चेल्सी २–०ले अगाडि बढ्यो ।
खेलको इन्जुरी समयमा बोर्नमाउथका कुकले आत्मघाती गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो ।
यो जितपछि शीर्ष स्थानको चेल्सीको १८ खेलबाट ४६ अंक भएको छ । यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी ७ अंकले पछि छ ।