नेपालले भुटानलाई हान्यो ८ गोल
काठमाडौं, ११ पुस । भारतको सिलगुढीमा जारी चौथो महिला फुटबल साफ च्याम्पियनसिपमा नेपालले भुटानमाथि फराकिलो जित दर्ता गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले साबित्रा भण्डारीको डबल हृयाट्रिकको मद्दतमा भुटानलाई ८–० गोल अन्तरले हराएर जित दर्ता गरेको हो ।
भारतको सिलिगुडीमा भएको खेलमा नेपालले पाँचौं मिनेटमा गोलको खाता खोलेकी साबित्राले ९ र २३ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पुरा गरिन् । २६ औं मिनेटमा सर्मिला थापाले गोल गरिन् भने ३५ औं मिनेटमा साबित्राले व्यक्तिगत चौथो गोल गर्दा पहिलो हाफमा नेपाल ५–० ले अगाडि रह्यो । दोस्रो हाफमा भुटानले केही सम्हालिएर खेल्न खोज्यो । तर, ७२ औं मिनेटमा साबित्राले गोल गरिन् । पाँच मिनेटपछि नै दीपा अधिकारीको क्रममा गोल गर्दै साबित्राले डबल हृयाट्रिक पुरा गरिन् । खेलको अन्तिम मिनेटमा कृष्णा खत्रीले गोल गरेपछि नेपाल ८–० को फराकिलो गोल अन्तरले विजयी भएको छ ।
अन्तर्रा्ष्ट्रिय खेलमा डबल ह्याट्रिक गर्ने भण्डारी पहिलो नेपाली खेलाडी हुन् ।