रहेनन् पपगायक जर्ज माइकल
एजेन्सी, ११ पुस । विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको निधन भएको छ । पप गायन क्षेत्रमा निकै चर्चा कमाएका माईकलको हृदयघातका कारण ५५ बर्षको उमेरमा निधन भएको हो । सन् १९८० को दशकदेखि गायन क्षेत्रमा रहेका जर्ज माइकलको १० करोड एल्बम बिक्री भइसकेका छन् । सन् १९८७ को उनको एल्बम फेथ निकै लोकप्रिय बनेको थियो ।
गायन, लेखन र निर्माण पनि उत्तिकै पोख्त जर्ज माइकलका लास्ट क्रिसमस, केयरलेस ह्वीसपर र फ्रीडम जस्ता गीतले विश्वमा हलचल मच्चाएको थियो । सन् २०११ मा निमोनिया भएपछि कन्सर्टमा कमै देखा परेका माइकलको निधनले उनका प्रशंसकहरु दुःखी बनेका छन् ।
सन् २००४ मा रेडियो एकादमीले जर्ज माइकललाई १९८४–२००४ सम्मको अवधिमा वेलायती रेडियोमा सर्वा्धिक गीत बजेको भन्दै उपाधी दिएको थियो । उनको निजी जीवनमाथी बनेको बृत्तचित्र ‘अ डिफरेन्ट स्टोरी’ सन् २००५ मा रिलिज भएको थियो ।