आज क्रिसमस पर्व, इसाई धर्मालम्बीहरुले मनाउदै

भक्तपुर न्यूज

१० पुष २०७३ ५:३६

आज क्रिसमस पर्व, इसाई धर्मालम्बीहरुले मनाउदै

काठमाडौं, १० पुस । आज इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमस पर्व धुमधामका साथ मनाइँदैछ । क्रिश्चियन धर्मका संस्थापक यशु ख्रीष्टको जन्मोत्सव डिसेम्बर २५ अर्थात आज परेकाले देशभरका गिर्जाघरमा विविध कार्यक्रम आयोजना गरीन्छ ।
दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।
आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिएका छन् । अहिले नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस अहिले सार्वजनिक स्थलमा पनि मनाइन्छ उनले भने ।
क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबिच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छिन् ।
उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण ख्रीष्टियन समुदायबाट संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *