लोकमानविरुद्धको फैसला आज हुनसक्ने
काठमाडौं, पुस ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता लगायतका विषयमा सर्वोच्चमा आज पनि सुनुवाई हुँदैछ । न्यायाधीशहरु ईश्वर खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा हिजो रिट निवेदनको पक्षका वकिलले बहस गरिसकेकाले आज विपक्षी अर्थात लोकमानका पक्षका वकिलहरुले बहस गर्नेछन् ।
पक्षका ११ जना वकिललाई बिहीबार २ घण्टाको समय दिएकाले विपक्षीका तर्फबाट वकालत गर्नेहरुले पनि २ घण्टा हाराहारीको समय पाउनेछन् । त्यसपछि बहसमा उठ्ने प्रश्नमा पक्षका वकिलले जवाफ दिएपछि आज नै फैसला पनि हुनसक्ने रिट निवेदनकर्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
लोकमानको पक्षबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, पूर्व महान्यायाधिवक्ताहरु बद्रीबहादुर कार्की, सुशील पन्त, बाबुराम कुँवर, र महादेव यादव पूर्व न्यायपरिषदका सदस्य उपेन्द्र केशरी न्यौपाने र अधिवक्ता भीमार्जुन आचार्य लगायतले बहस गर्नेछन् । अख्तियारको प्रमुखमा नियुुक्तिका लागि लोकमानको योग्यता नपुगेको, सर्वोच्चको म्याद तामेलीमा अवरोध गरेको लगायतका साटवटा रिटमा सुनुवाई भइरहेको हो ।