उपप्रधानमन्त्री निधि र तिब्बत पिपुल्स कंग्रेस अध्यक्षबीच भेटवार्ता

भक्तपुर न्यूज

७ पुष २०७३ ११:२६

उपप्रधानमन्त्री निधि र तिब्बत पिपुल्स कंग्रेस अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, ७ पुस । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष बाई मा चिलिन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज बिहान भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, दुई देशबीचको ऐतिहासिक र सांकृतिक सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा गृहमन्त्री निधिले चीनसँगको सम्बन्धलाई नेपाल सरकारले अत्यन्त महत्व दिएको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए । उनले नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता पनि जनाए ।
चीनले हासिल गरेको आर्थिक समृद्धि र त्यसबाट सिर्जित अवसरको सदुपयोग गर्ने नेपालको चाहना रहेको मन्त्री निधिले उल्लेख गरे । गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले तिब्बत पिपुल्स कंग्रेस (संसद)का अध्यक्ष बाइको ध्यानाकर्षण गराए । त्यस अवसरमा अध्यक्ष बाइले अरनिको राजमार्ग पुनःनिर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए । साथै, उनलेअसल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैव सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *