बिद्युत चोर्नेबाट भक्तपुर प्राधिकरणले असुल्यो २१ लाख
भक्तपुर । सरकारले उपत्यकालाई लोडसेडिङ्ग मुक्त गराउने अभियानसँगै भक्तपुरमा भइरहेको बिद्युत चुहावट नियन्त्रण सक्रिय बनेको छ नेपाल विद्युत प्राधिकरण भक्तपुर । सामान्यदेखि ठूलो बिद्युत चोरी नियन्त्रणमा लागेको प्राधिकरणले यो आर्थिक बर्षमा मात्र प्रति व्यक्ति न्यूनतम २० हजारदेखि एक लाख उनान्साठी हजारसम्म रुपियाँ बिद्युत चोरी बापत हर्जना तिराएको छ । यो आर्थिक बर्षमा सबैभन्दा बढी मंसिर महिनामा मात्र चोरी बापतको हर्जना १३ लाख संकलन भएको प्रधिकरणका प्रमुख बिक्रम कुमार अमात्यले जानकारी दिए । उनले भने यो आर्थिक बर्षमा मात्र चोरी बापतको हर्जना २१ लाख संकलन भइसकेको छ । उनका अनुसार भक्तपुरमा जसरी बिद्युत चुहावट भइरहेको छ, चेतनाको बृद्धिसँगै बिस्तारै न्यून हुँदै गईरहेको र प्राधिकरण चुहावट नियन्त्रणमा आफ्नो गच्छे अनुसार काम गरिरहेको छ । हप्ताको एक दिन बाहेक अन्य दिन प्राधिकरणले दूई समूह बनाएर बिद्युत चुहावट नियन्त्रणमा परिचालन गरिरहेको र यसले दैनिक चुहावट नियन्त्रणमा समेत सहयोग पुगेको उनी बताउँछन् । यसरी भक्तपुरका बिभिन्न स्थानमा हुने गरेको सामान्य बिद्युत चोरीले गर्दा बिद्युत चोरी नगर्नेलाई समेत असर पारेको उनी बताउँछन् । भक्तपुरका विभिन्न स्थान मध्ये सबैभन्दा बढी बिद्युत् चोरी हुने स्थानमा लिबाली, भेलुखेल, छालिङ्ग, भातेढिकुर लगायतको स्थान रहेको उनी बताउँछन् । उनले भने चोरीको प्रकृति नियाल्ने हो भने विभिन्न स्थानमा हुकिङ, मिटर बक्सको अघिबाट तारमा अर्को तार जोडेर र शिल गरेको मिटर बक्सको संरचना बिगारेर बिद्युत चोर्ने गरेको पाइएको छ । भक्तपुर प्राधिकणले बिद्युत चुहावट नियन्त्रण गर्न प्रत्यक्ष अनुगमन र कारवाहिको प्रक्रिया त अघि बढाएको छ, साथमा विभिन्न खालका जनचेतनामूलक गतिबिधिसमेत सञ्चालन गरिरहेको छ अमात्यले भने । हामीले विभिन्न बिद्यालयमा गएर बिद्यार्थी वर्गसँग बिद्युत चुहावटबारे र नियन्त्रण सम्बन्धि सचेतना कक्षाहरु सञ्चालन गर्नुका साथै पम्पप्लेट र माइकिङ्ग समेत गरिरहेका छौं, यस्ता सचेतना कार्यक्रबाट समेत चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उनले जानकारी दिए ।