स्थानीय निकाय निर्वाचनको बाधक एमाले : राणा
भक्तपुर, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले वर्तमान राष्ट्रिय संकट निवारणको बाधक भएको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राणाले स्थानिय निकाय निर्वाचन लामो समयसम्म हुन नसकेको र तोकिएको मिति नजिकिँदै गर्दा एमालेले अवरोध गरेकै कारण निर्वाचन ओझेलमा पर्दै गएको बताए ।
उनले सिंमाकनका बारे एमाले, माओबादी र काँग्रेसले बिगतमा गरेको सहमतीलाई भुल्दै एमालेले सदन र सडक अवरोध जसरी गरिरहेको छ, एमालेको उल्टो भूमिकाकै कारण सिंमाकनको बिषयले देशमा थप संकट भित्रिएको बताउँदै उनले निर्वाचन तोकिएको समयमा नभए देशले संबैधानिक संकट बेहोर्नु पर्ने दाबी गरे ।
सरकारले एमाले वा मधेसवादी जसको माग सम्बोधन गरे पनि समस्या समाधान हुने नदेखिएकाले देश थप संकट तर्फ गइरहेको भन्दै राणाले वर्तमान समस्याको गाँठो फुकाउन अलेक्जेन्डरको तरवार आवश्यक भएको टिप्पणी गरे ।
उनले सिंमाकनको बिषयमा आफ्नो पार्टीको धारणा पहिले नै आईसकेको र संशोधनका बारे पार्टीलाई समेत जानकारी नभएको भन्दै ५ नं. प्रदेशमा भएको आन्दोलनमा आफ्नो पार्टीको सहानुभूती नभएको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै राणाले संविधान संशोधनमा घुमाउरो पारामा जुनसुकै भाषा सरकारी कामकाजको भाषा हुने भन्ने विषयमा सहमत छैनौं तर राप्रपाले पहिला नै तराईमा दुई प्रदेश हुनु पर्दछ भन्ने धारणा राखेको बताउदैँ राणाले मधेसका जनताको जायज माग राज्यले पुरा गर्नु पर्ने बताए ।
संसदबाट हिन्दुराज्य घोषणाको माग सम्बोधन गर्न सक्ने वातावरण नभएकाले पार्टीले महाधिवेशन पछि आन्दोलनको गर्ने भन्दै राणाले त्यसकोलागि जनमत संग्रह गर्नु पर्ने बताए । उनले पार्टीको एकतापछि करीव ६० जिल्लामा एकिकरण भइसकेको र बाकीँ जिल्लामा छिट्टै एकिकरण हुने जानकारी दिए ।
सरकारले आफ्ना नागरिकको घाउमा मलम समेत लाउन नसकेको भन्दै पूननिमार्णका सवालमा विदेशी दिएको साढे चार अरब रुपैया समेत खर्च गर्न नसक्नु र जनतालाई दुइ चिसोमा राख्नु सरकारको कमजोरी भएको राणाले आरोप लगाए ।