तिवारीको हत्याको विरोधमा लुम्बिनी अञ्चल बन्द

भक्तपुर न्यूज

५ पुष २०७३ ६:४७

तिवारीको हत्याको विरोधमा लुम्बिनी अञ्चल बन्द

काठमाडौं, ५ पुस । युवासघं नेपाल, रुपन्देही जिल्ला कमिटी अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज लुम्विनी अञ्चल बन्द गरिएको छ । नेकपा एमालेले हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै लुम्विनी अञ्चल बन्दको आह्वान गरेको हो । आज लुम्बिनी अञ्चलका रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, गुल्मी तथा अर्घाखाँचीमा बन्द भएको छ ।
बन्दका कारण आज बिहानैदेखि गाडी चलेका छैनन् । बजार, पसल तथा शैक्षिक संस्थाहरु ठप्प भएको छ । पाल्पामा भने हिजो बेलुकादेखि नै बन्द गरिएको छ । युवा संघ पाल्पाका अध्यक्ष करुणा काफ्लेका अनुसार आज बिहान ६ देखि बेलुका ६ बजेसम्म बन्द गरिएको बताए । युवा संघ कपिलवस्तुले आह्वान गरेको चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग, चन्द्रौटा–कृष्णनगर, जितपुर–तौलिहवा र तौलिहवा–लुम्विनी सडकखण्डमा सवारी साधनहरु ठप्प भएका छन । यसैबिच सरकारले संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा भएको बन्द २० दिनपछि सोमबार ११ बजेदेखि खुलेको गुल्मीमा फेरि बन्द भएको छ । बन्द खुलेको १८ घण्टापछि फेरि बन्द भएको हो ।
तिवारीको हत्याको विरोधमा युवा संघ गुल्मीले आज बिहानैदेखि गुल्मीमा प्रदर्शन गरेको छ । यस्तै रुपन्देही नवलपरासी तथा अर्घाखाँचीमा आज बिहानैदेखि बन्द भएको छ । प्रहरीले आर्थिक लेनदेनको कारण तिवारीको हत्या हुन सक्ने अनुमान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *