जर्मनीमा लरीले किच्दा १२ को मृत्यु, ५० भन्दा बढी घाइते

भक्तपुर न्यूज

५ पुष २०७३ ६:२२

जर्मनीमा लरीले किच्दा १२ को मृत्यु, ५० भन्दा बढी घाइते

जर्मनीको राजधानी बर्लिनमा एक क्रिशमश बजारको भीडमा एउटा लरीले किचेर कम्तीमा १२ जना मारिएका छन् भने अन्य ५० जना घाइते भएका छन् । बर्लिनका आन्तरिक मामिला राज्यमन्त्रीले उक्त हमला सुनियोजित भएको पुष्टि गर्ने धेरै आधारहरु रहेको बताएका छन् ।
बर्लिनका प्रहरीले पोलिस नम्बर प्लेट रहेको उक्त लरी पोलन्डबाट चोरेर ल्याइएको हुनसक्ने आशंकामा छानविन गरिरहेको बताएका छन् । उक्त लरीमा सवार एक जना यात्रुको शव फेला परेको र लरी चालकलाई पक्राउ गरिएको बताइएको छ ।
बर्लिनको पश्चिममा अवस्थित मुख्य बजारमा भएको पछिल्लो घटनाबारे चान्सलर अंङ्गेला मर्कलले चासो व्यक्त गरिरहेको र उनी आन्तरिक मामिला राज्यमन्त्री र नगरका मेयरसँग सम्पर्कमा रहेको उनको कार्यालयले जनाएको छ । प्रत्यक्षदर्शीले उक्त लरी एकदमै तीव्र गतिमा आएको र भीडभाड रहेको क्षेत्रमा पनि उसले रोकिने कुनै संकेत नदेखाएको उल्लेख गरेका छन् । एउटा गिर्जाघरको छेउमा रहेको व्यस्त बजारमा उक्त घटना भएको हो । प्रहरीले शुरुमा घटनास्थलबाट भागेका भनिएका लरी चालकलाई गिरफ्तार गरेका छन् । घाइते ५० मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
सुरक्षा स्रोतले जर्मन समाचार संस्था डिपिएलाई दिएको जनाकारी अनुसार उक्त लरीको चालक अफगानिस्तान वा पाकिस्तानबाट शरण खोज्दै गएको फेब्रुअरीमा जर्मनी आइपुगेका थिए । बर्लिनका प्रहरी प्रवक्ताले घटनास्थलबाट दु्ई किलोमिटर टाढा रहेको क्षेत्रमा उनलाई पक्राउ गरिएको उल्लेख गरेका छन् । लरीको तस्वीरमा रहेको नम्बर प्लेटले उक्त ट्रक छिमेकी पोलन्डमा दर्ता भएको देखाउँछ ।
प्रहरीले त्यहाँको एउटा निर्माण क्षेत्रबाट चोरेर त्यसलाई ल्याइएको हुनसक्ने आशंका गरेका छन् । उक्त लरीका पोलन्ड निवासी मालिकले आफ्नो गाडी हराइरहेको र त्यसका चालक सम्पर्कविहीन रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *