अवैध ढुंगा खानीले टेरेन प्रशासनलाई

भक्तपुर न्यूज

४ पुष २०७३ ११:१९

अवैध ढुंगा खानीले टेरेन प्रशासनलाई

भक्तपुर । अवैध रुपमा सञ्चालन गरिरहेका खानीलाई कारवाही गर्ने निकाय नहुँदा भक्तपुरमा खुलेआम अवैध खानी सञ्चालनको क्रम निरन्तर चलिरहेको छ । अवैध रुपमा सञ्चालन भइरहेको बालुवाको चलखेललाई नियन्त्रण गर्न मुस्किल परिरहेको सम्बन्धित निकायलाई नगरकोट नगरपालिकाको ताथलीमा सञ्चालन भइरहेको ढुगां खानी यति बेला राम्रो आम्दानीको स्रोत बनेको स्थानियहरु बताउँछन् ।
स्थानियहरुको ब्यापक गुनासो पश्चात भक्तपुर जिल्ला प्रशासनले बन्द गर्न आदेश दिएता पनि सो आदेश कागजमै सिमित बन्दा यति बेला खानी आसपास क्षेत्रको बस्ती नै जोखिममा परेको स्थानियहरु बताउँछन् । रोचक प्रसँंग त के छ भने अवैध खानीमा प्रयोग भइरहेका दुई डोजर प्रशासनले नियन्त्रणमा लिएता पनि हाल सोही डोजरको प्रयोग गरि खानीबाट ढुंगा झिक्ने काम धमाधम भइरहेको छ । खानीमा डोजरको प्रयोग भइरहेको जानकरी प्रशासन र जिल्ला बिकास समिति भक्तपुरलाई दिए लगतै देखावटी अनुगमन टोली पुगेको जिल्ला बिकास समितिका एक कर्मचारी नाम उल्लेख नगरिदिने शर्तमा बताउँछन् ।
उनी भन्छन् डोजरको प्रयोग भइरहेको खबर आएपछि अनुगमन जानु अघिनै एक कर्मचारीले खानी सञ्चालकलाई अनुगमन आउँदै छ भनी खबर गरेका थिए । तत् पश्चात अनुगमन टोली खानी क्षेत्रमा पुग्दा दुईवटा डोजर खानीमा जान नमिल्ने गरी राखिएको अवस्थामा रहको उनी बताउँछन् । कमिशनको खेल नभएको भए किन अनुगमन जानु अघि नै सूचना चुहावट हुन्थ्यो तपाँई आफै बुझ्नुस् त उनी उल्टै प्रश्न गर्छन् । तलदेखि माथिसम्मकै सेटिङ् नमिलेको भए कसरी अवैध खानी सञ्चालन हुन्थ्यो उनी भन्छन् सबैलाई राम्रै आर्थिक चास्नी मिलेको छ र तैं चुप मै चुप भएका छन् अनि स्थानियको गुनासो बढेपछि यसो देखावटी भए पनि अनुगमन गर्छन् ।
लामो समयदेखि सञ्चालनमा रहेको ढुंगा खानी सरोकारवाला निकाय कै संरक्षणमा सञ्चालनमा रहेता पनि सञ्चार माध्यममा खानीका बारे समाचार आउनु वित्तिकै देखावटी भए पनि बन्दको कामलाई अगाडि बढाएको एक स्थानिय नाम उल्लेख नगरिदिन शर्तमा बताउँछन् । उनी भन्छन् केही समयअघि प्रशासनले समेत बन्द गर्न दिएको निर्देशनको अवज्ञा गर्दै खानी पुनः सञ्चालन भइरहेको छ ।
यसरी खानी सञ्चालन भइरहँदा सो क्षेत्रका स्थानियहरु भने जोखिमकै कारण बिस्थापित हुनु परेको उनी गुनासो पोख्छन् । जोखिम मोल्नु भन्दा भएको घर खेत बेचेर अन्तै सुरक्षित स्थानको जोहोमा लागेको अर्का स्थानिय बताउँछन् । स्थानियहरुको माग रहेको छ, तत्काल ढुंगा खानी बन्द गरि बस्तीलाई सुरक्षित पार्ने तर्फ सरोकारवालाहरुको ध्यान जाओस् ।
लामो समयदेखि भक्तपुरमा कुनै पनि खानी सञ्चालनमा रोक लगाईएको छ तर कागजमै मात्र रोक लगाईएको खानी भने ब्यवहारमा धमाधम खुल्ला छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समय अघि भक्तपुरका खानीहरुमा देखिएको अनियमिततालाई मध्यनजर गर्दै अनुसन्धानका लागि खानीका फाईलहरु लगे यता खानीमा रोक लगाइएको हो । कानुनको संरक्षण गर्नेहरुनै खानी सञ्चालकहरुसँग मिलेर आर्थिक लाभ लिने क्रमको निरन्तरताकै कारण भक्तपुरमा अवैध खानी सञ्चालनको क्रम तिब्र बढेको खानी आसपासका स्थानियहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *