आठौं सिमरा गोल्डकप माघ तेस्रो सातादेखि सुरु

भक्तपुर न्यूज

३ पुष २०७३ ८:५४

आठौं सिमरा गोल्डकप माघ तेस्रो सातादेखि सुरु

सिमरा, ३ पुस । आठौं संस्करणको सिमरा गोल्डकप माघको तेस्रो सातादेखि सुरु हुने भएको छ । आयोजक नव जागृति युवा क्लबले सिमरामा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सिमरा रंगशालामा सञ्चालन गरिने प्रतियोगिता माघ २० देखि २९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरि १० टिमको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा आयोजक क्लबले सार्वजनिक गरेको सम्भावित टिमहरुमा ए डिभिजनको मनाङ मस्र्याङदी क्लब, बिभागीय टिम नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, संकटा, सरस्वती युथ क्लबसहित साविक बिजेता विजय युथ क्लब, उपबिजेता रुपन्देही ११, सहारा क्लब पोखरा, वीरगन्ज युनाईटेड क्लब र आयोजक नव जागृति युवा क्लब रहेका छन् ।
आयोजक क्लबका अध्यक्ष कासिम मियाका अनुसार प्रतियोगितामा सहभागी हुने टिममा केही परिवर्तन हुनसक्ने जानकारी दिए । अहिले सम्भावित नाम सार्वजनिक गरेका छौ, यसमा केही हेरफेर हुनसक्नेछ ।
सातौं संस्करणसम्म मोफसलकै सर्वा्धिक पुरस्कार राशीको प्रतियोगिता रहेको सिमरा गोल्डकपमा यस बर्ष पुरस्कार राशीमा कुनै बृद्धि गरिएको छैन् । आयोजकले यस वर्ष पनि प्रतियोगिताको बिजेतालाई पाँच लाख ५१ हजार दिने भएको छ । उपबिजेताले दुई लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई गत बर्षझै सुजुकी मोटरसाईकल प्रदान गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने भएका छन् । खेलको म्यान अफ दि म्याचलाई आयोजकले यस वर्ष पाँच हजार नगदसहित ट्रफि दिने भएको छ ।
क्लबका अध्यक्ष कासिम मियाले पुरस्कार राशी बृद्धि गर्नुभन्दा पनि उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार उलपब्ध गराउने उदेश्य रहेको बताए । आयोजकले गत वर्ष जस्तै यस वर्ष पनि बिक्री भएको टिकटको पाँच प्रतिशत रकम वातावरण संरक्षणमा खर्च गर्ने बताएको छ ।
आयोजकले यस बर्ष प्रत्येक खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । अफिसियल ब्रोडकास्टर रहेको डिस होम स्पोर्टस्ले खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको हो । आयोजकले पत्रकार सम्मेलनमा सिमरा गोल्डकपको गित समेत सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *