संशोधन प्रस्तावलाई प्रक्रियामा गएर फेल गराउन एमालेलाई चुनौति : सिंह
ललितपुर, ३ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संशोधन प्रस्ताव गलत भए प्रक्रियामा गएर फेल गराउन नेकपा एमालेलाई चुनौति दिएका छन् ।
ललितपुरको जावलाखेलमा सर्वोच्च नेता गणेशमान सिंहको पूर्ण कदको शालिक अनावरण गर्दै उनले हरहालतमा संशोधन विधेयक अगाडि बढ्ने भन्दै संशोधन प्रस्ताव गलत भए प्रक्रियामा गएर फेल गराउन एमालेलाई चुनौति समेत दिए ।
उनले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भनेर प्रमाणित गर्न एमालेलाई चुनौति दिएका छन् । संशोधन प्रस्तावको विरोधमा संसद अवरोध गरेर एमालेले संसदीय ब्यवस्थाको उपहास गरेको उनले आरोप समेत लगाए ।
सिंहले संशोधन प्रस्तावले राष्ट्रियता झन् बलियो बन्ने बताए । अहिले प्रमुख दलहरु जिम्मेवार बनेर संविधानलाई स्र्वस्वीकार्य बनाउने र कार्यान्वयनको वातावरण बनाउनुपर्ने भन्दै उनले एमालेलाई आन्दोलन त्यागेर सहमतिमा आउन आग्रह गरे । प्रमुख दलहरु मिल्न नसके मुलुक गम्भीर संकटमा फस्ने भएकाले जिम्मेवार बन्न सिंहले एमालेलाई सुझाव दिए ।