चेल्सीले गर्यो आफ्नै कीर्तिमानमा बराबरी
एजेन्सी, ३ पुस । इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले आफ्नै कीर्तिमानमा बराबरी गरेको छ । ९ अंकको अग्रता कायम गरेको चेल्सीले लिगमा लगातार ११ जित दर्ता गर्दै सन् २००९ मा बनाएको क्लबको कीर्तिमानमा बराबरी गरेको हो । चेल्सीले सन् २००९ को अप्रिलदेखि सेप्टेम्बरसम्म ११ खेलमा विजयी भएको थियो । प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान भने आर्सनलको नाममा छ । उसले सन् २००२ मा लगातार १४ खेलमा जित निकाल्दै कीर्तिमान बनाएको थियो ।
लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । चेल्सीको जितमा ४३ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो ।
शीर्ष स्थानको चेल्सीको १७ खेलबाट ४३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको ३४ अंक छ । ३४ अंक नै भएको आर्सनल तेस्रो स्थानमा छ । १७ खेलबाट १५ अंकसहित क्रिष्टलप्यालेस १७ औं स्थानमा छ ।