तत्काल प्रतिनिधिसभाको निर्वाचन असम्भव : देउवा
चितवन, १ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा एमालेले प्रस्ताव गरे झैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए ।
तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए । मधेसवादी दलहरु संविधान संशोधन नभई निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि भन्ने प्रश्नको जवाफमा उहाँले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गरे । संसद्को अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उनको भनाइ थियो ।
वि.सं. २०७४ माघभित्र कुनै पनि हालतमा तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक सङ्कट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने सभापति देउवाले बताए । संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो ।