पर्यटनमन्त्री शाही एडिलेडमा
एडिलेड ३० मंसिर । नेपालका पर्यटनमन्त्री जीवनबहादुर शाही बिहीबार बिहान साउथ अष्ट्रेलियाको एडिलेड आइपुगेका छन् । मन्त्री शाहीलाई एडिलेड बिमानस्थलमा साउथ अष्ट्रेलियाका लागि नेपाली महाबाणिज्यदूत दीपक धमला, एनआरएन ओसनियाका उपसंयोजक रमेश जोशी, एनआरएन साउथ अष्ट्रेलियाका संयोजक नवीन कँडेल, सचिव नविन पन्त लगायतले स्वागत गरेका थिए ।
बिमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै मन्त्री शाहीले दक्षिण अष्ट्रेलियाकी बिपक्षी दलकी नेतृ जीङ ली लगायतसँग नेपालको पर्यटन प्रर्बद्धनबारे काठमाण्डौमा हालै भएको छलफलाई अगाडी बढाउने बताए । मन्त्री शाहीलाई अपरान्ह साउथ अष्ट्रेलियाको संसदमा यहाँकी बिपक्षी दलकी नेतृ जिङ लीले स्वागत गरिन । सो अबसरमा अष्ट्रेलियामा नेपालको पर्यटन प्रर्बद्धन, दुई देशका पर्यटकीय गन्तब्यको प्रचारप्रसार लगायतका बिषयमा छलफल भएको एनआरएन साउथ अष्ट्रेलियाका सचिव नविन पन्तले जानकारी दिए । पर्यटन प्रर्बद्धनका लागि दुई देशका ब्यबसायीवीच (बीटुबी) छलफल र अन्तरक्रियालाई प्राथमिकता दिने सहमति पनि भएको छ ।
आजै मन्त्री शाहीले साउथ अष्ट्रेलियाका बहुसांस्कृतिक मन्त्रीसँग पनि भेटने तालिका रहेको सचिव पन्तले जानकारी दिए । मन्त्री शाहीको सम्मानमा साँझ महाबाणिज्यदूत दीपक धमलाले रात्रीभोजको आयोजना गरेका छन् ।
एडिलेडको एक दिने ब्यस्त भ्रमण सकेर मन्त्री शाही भोलि मेलवर्न जाने कार्यक्रम छ । शुक्रबार साँझ उनी मेलवर्नमा आयोजित गाला डिनरमा सहभागी हुनेछन भने शनिवार प्रमुख अतिथिका रुपमा नेपाल फेष्टिवलको उद्घाटन गर्नेछन् । भ्रमण टोलीमा मन्त्रीपत्नी बसन्तीकुमारी शाही र पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय पनि सहभागी छन् ।