सिनर्जी पावरको २१ लाख कित्ता सेयर आउँदै
काठमाडौं ३० मंसिर, । पुस ८ गतेदेखि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणमा १ सय रुपैयाँ दरका २१ लाख कित्ता सेयर जारी गर्दैछ । कम्पनीको सेयरमा छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सकिने छ भने त्यो अवधिसम्म पनि सेयर बिक्री नभएमा २२ गतेसम्म बिक्री खुला रहने छ ।
२१ लाख सेयर कित्तामध्ये ३ प्रतिशत सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत सेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ । सेयरमा न्युनत्तम ५० कित्तासम्म र अधिकत्तम २१ हपार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयरमा कम्पनीको नक्साल कार्यालय, बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्सादबाट र सानिमा बैंकका सबै कार्यालयबाट आवेदन दिन सकिने छ । कम्पनीले अहिलेको बैंक ऋण तिर्नको लागि सेयर निष्कासन गर्न लागेको देखिन्छ । हाल कम्पनीले ९.६६ मेगावाटको सिपि्रन हाइड्रो इलेक्टि्रक प्रोजेक्ट सञ्चालनमा ल्याएको छ । जनवरी २०१३ देखि सञ्चालनमा रहेको यो आयोजना भुकम्पबाट समेत प्रभावित बनेको थियो ।
भूकम्पअघि नै पनि कम्पनीले सम्झौता अनुसार ६२ प्रतिशत पावर लोड गर्नुपर्नेमा ४४ प्रतिशतमात्र गर्न सम्भव भइरहेको थियो । यही कारण कम्पनीले सर्ट सप्लाई पेनाल्टि तिर्नु परेको र आम्दानी पनि गुमाइरहेको इक्रा रेटिङले उल्लेख गरेको छ । कम्पनीले इक्रा नेपालबाट ग्रेड फोर रेटिङ प्राप्त गरेको थियो । यसले कम्पनीको समग्र आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।कम्पनीले बीमा कम्पनीहरुसंग भुकम्पको क्षतीमा २१ करोड दाबी गरेकोमा सर्भेयरहरुले ७० देखि ८० प्रतिशतमात्र तिर्न सकिने अवस्था रहेको उल्लेख गरेका छन् । कम्पनीले बीमा कम्पनीबाट नाफामा पुगेको क्षतीवापत १० करोड ७० लाख रुपैयाँ र भौतिक क्षतिको लागि ७ करोड ५० लाख प्राप्त गरिसकेको छ ।
मर्मत सम्भाव यता कम्पनीको आयोजना सञ्चालनमा आइसकेको छ । कम्पनीको सेयर निष्कासनपछि चुक्ता पूँजी ७० करोड हुने छ । कम्पनीले यसअघि नै स्थानिय प्रभावित बासिन्दाको लागी सेयर जारी गरिसकेको छ । यस कम्पनीको अनुमति प्राप्त अवधि ११ बर्ष ९ महिना बाँकी रहेको छ । कम्पनी गत आव अन्त्यसम्ममा ६ करोड ४५ लाख नोक्सानमा रहेको छ । तर चालु आव अन्त्यसम्ममा कम्पनीले ९ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको छ । कम्पनीको अध्यक्षमा विष्णुराज अधिकारी र प्रबन्ध निर्देशक सुरेन्द्र खड्का, तिनका आफन्त र सम्बद्ध कम्पनीहरुको मात्रै यस कम्पनीका ५० प्रतिशत सेयर लगानी रहेको छ ।