ऊर्जामन्त्रीलाई १० करोड अफर
२९ मंसिर, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन आफूलाई १० करोड रुपैयाँ घुस अफर आएको बताएका छन् । पाँच जना व्यक्ति १० करोडको अफर लिएर आफूकहाँ आएको तर, आफूले त्यसलाई अस्वीकार गरिदिएको उनले बताए । उनले रकम अफर कसले गर्यो भन्ने कुरा भने खुलाएनन् ।
मोरङको रंगेलीमा आयोजित एक कार्यक्रममा उनले भने, मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाईंहरु जस्तो उद्योगपति म पनि हुनसक्थें हुँला तर मैले त्यो बाटो रोजिन । परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ । उनल आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेकाले त्यस्तो अफर अस्वीकार गरेको बताए ।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्यायले लोडसेडिङ हटाएर जनताबाट पाएको वाहवाही र सदभावलाई कायम राख्न कडा मेहेनतका साथ लागिपर्न कर्मचारीहरुलाई निर्देशन दिए । ऊर्जामन्त्रीको कुशल राजनीतिक नेतृत्व र कार्यकारी निर्देशकको सक्षम व्यवस्थापनको कारण लोडसेडिङ हटेको भन्दै उनले यसलाई सुख्खायाममा पनि निरन्तरता दिन फिल्डमा खट्ने कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।