घटनाको अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ २८ मंसिर। कपिलवस्तु विद्यानगर गाविस बसबरिया गाउँका अमरदीप यादवका घरमा सोमबार पाँच/छ जना मुस्लिम युवा आई विवाद गर्दा घाइते भएकामध्ये करिब ५५ वर्षीय मुन्नालाल यादवको मृत्यु भएको छ । यादवका पक्षका छ/सात जना उक्त स्थानमा पुगेपछि विवाद चर्कन गई झडप हुँदा छ जना घाइते भएकामा टाउकामा चोट लागी गम्भीर घाइते भएका मुन्नालाको उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएकामा अपराह्न मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुको आजको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र अन्य फरारको खोजी भइरहेको तथा काभ्रेपलाञ्चोक नयाँ बाङ्थली–७ निवासी लक्ष्मी परियारको शुक्रबार भएको हत्यामा आरोपित चारै जना अभियुक्त पक्राउ परेको मन्त्रालयले जनाएको छ । परियारको हिरा लामासहितका व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले काभ्रेपलाञ्चोक र कपिलवस्तुको घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन निर्देशन दिएका छन् । ती घटनाको सफल अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर सोको विवरण सार्वजनिक गर्न स्थानीय अधिकारीलाई आवश्यक निर्देशन गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।